APPROVEDOffice of the Prime Minister and Council of MinistersSep 6, 2026, 03:59 PM
विपद्को घडीमा अहोरात्र खटिनुहुने सुरक्षाकर्मीप्रति नेपाल सरकार सदैव कृतज्ञ रहनेछ : प्रधानमन्त्री बालेन्द्र शाह
Moti KhanalSep 6, 2026, 03:59 PM
प्रधानमन्त्री वालेन्द्र शाहले बाढी तथा प्राकृतिक विपद्को समयमा आफ्नो ज्यानको पर्वाह नगरी नागरिकको उद्धार, खोजी र सुरक्षामा अहोरात्र खटिनुहुने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण सुरक्षाकर्मीहरूको उच्च प्रशंसा गर्नुभएको छ।
राष्ट्रसेवक सुरक्षाकर्मीहरूलाई सम्बोधन गर्नुहुँदै सम्माननीय प्रधानमन्त्रीज्यूले नुवाकोट जिल्लाको विदुर नगरपालिका-६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा बाढी पसेको विषम परिस्थितिमा सुरक्षाकर्मीहरूले प्रदर्शन गर्नुभएको साहसलाई अत्यन्तै उदाहरणीय कार्यको रूपमा प्रस्तुत गर्नुभएको छ। उहाँले अवगत गराउनुभएअनुसार, कारागारमा रहेका ९२३ जना कैदीबन्दीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कमान्डरसहित ५२ जना सुरक्षाकर्मीहरूले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। बाढीले कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोस्ट र पर्खालमा क्षति पुर्याउनुका साथै परिसरमा लेदो पसेको जोखिमपूर्ण अवस्थामा समेत सुरक्षाकर्मीहरूले कैदीबन्दीहरूलाई माथिल्लो भवनमा सुरक्षित रूपमा सार्न सफल हुनुभएको थियो।
विपद्को मौका छोपी पर्खाल र गेट तोडेर करिब १०० मिटर टाढासम्म भागेका ५० जना कैदीबन्दीहरूलाई समेत सुरक्षाकर्मीहरूले तत्परताका साथ पुनः नियन्त्रणमा लिन सफल हुनुभएको जानकारी सम्माननीय प्रधानमन्त्रीज्यूले गराउनुभएको छ। कैदीबन्दीहरूको आक्रमणबाट केही सुरक्षाकर्मीहरू घाइते हुनुभए तापनि उहाँहरूले आफ्नो कर्तव्यबाट विमुख नभई आसपासका स्थानीय बासिन्दाहरूको ज्यानसमेत सुरक्षित गर्नुभएको विषयलाई उहाँले विशेष रूपमा उल्लेख गर्नुभएको छ।
सम्माननीय प्रधानमन्त्रीज्यूले सुरक्षा निकायका आफ्नै ब्यारेक र कार्यालयहरू लेदोमा पुरिएको, पहुँचमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएको तथा खानेपानीको चरम समस्या रहेको कठिन अवस्थामा समेत सम्पूर्ण सुरक्षाकर्मीहरू उच्च मनोबलका साथ आफ्नो कर्तव्य पालनमा दत्तचित्त भएर खटिरहनुभएको बताउनुभएको छ।
उहाँका अनुसार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म १३ हजार ३९१ जना नागरिकको सकुशल उद्धार गरिएको छ। स्थलमार्ग, हेलिकोप्टर तथा कतिपय दुर्गम स्थानहरूमा घाइतेहरूलाई काँधमा बोकेर समेत अस्पतालसम्म पुर्याउने कार्य भएको उहाँले प्रस्ट पार्नुभएको छ।
यस विपद्का कारण ४५ जना नेपाली सेना, २५ जना नेपाल प्रहरी र १२ जना सशस्त्र प्रहरीका होनहार जवानहरू अझै सम्पर्कविहीन रहनुभएको दुःखद जानकारी दिनुहुँदै सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्ना सहकर्मी गुमाउनुको अकल्पनीय पीडाका बाबजुद पनि समग्र सुरक्षाकर्मीहरू खोज तथा उद्धार कार्यमा निरन्तर रूपमा खटिरहनुभएको यथार्थ चित्रण गर्नुभएको छ।
सम्माननीय प्रधानमन्त्रीज्यूले उपलब्ध गराउनुभएको तथ्यांकअनुसार हाल बाढी प्रभावित क्षेत्रहरूमा ९ हजार २८७ जना नेपाली सेना, ७ हजार ९७५ जना नेपाल प्रहरी र ४ हजार २०३ जना सशस्त्र प्रहरी बलका जनशक्ति परिचालन हुनुभएको छ। नेपाली सेनाले नुवाकोटको त्रिशूली बट्टार र रसुवाको धुन्चेबाट फरवार्ड हेडक्वार्टर, मेडिकल टिम तथा एयर बेस सञ्चालन गरी उद्धार कार्यलाई थप तीव्रता दिएको छ। साथै, सेनाद्वारा अवरुद्ध बाटो खुलाउने तथा बेलिब्रिज र एक्रो ब्रिज निर्माणका कार्यहरूसमेत सञ्चालन भइरहेको उहाँले बताउनुभएको छ।
नेपाल प्रहरीले खोज तथा उद्धार, राहत वितरण, शव व्यवस्थापन, घाइतेको उद्धार र समग्र शान्ति सुरक्षा कायम गर्ने कार्यमा अग्रपंक्तिमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको उहाँले बताउनुभएको छ। यसका निम्ति तालिमप्राप्त कुकुरसहितको टोलीसमेत खोज तथा उद्धारमा परिचालन गरिएको छ।
यसैगरी, सशस्त्र प्रहरी बल, नेपालले विशेष तालिमप्राप्त गोताखोर, डोरी उद्धार टोली, ड्रोन तथा केनाइन टोली परिचालन गरी अत्यन्त जोखिमपूर्ण क्षेत्रहरूमा समेत खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको जानकारी सम्माननीय प्रधानमन्त्रीज्यूले गराउनुभएको छ।
सम्माननीय प्रधानमन्त्रीज्यूले सुरक्षाकर्मीहरूको त्याग, निष्ठा र अदम्य साहसकै कारण यस गम्भीर संकटको समयमा पनि लाखौँ नागरिकले आफूलाई सुरक्षित महसुस गर्न सकेको धारणा व्यक्त गर्नुभएको छ। कार्यक्षेत्रमा खटिनुहुने प्रत्येक सुरक्षाकर्मीको अतुलनीय योगदानको नेपाल सरकारले उच्च कदर गर्ने र उहाँहरूको सेवा, सुरक्षा तथा सुविधाको हकमा सरकारले कुनै पनि प्रकारको सम्झौता नगर्ने दृढ प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।
यस विषम परिस्थितिमा सुरक्षाकर्मीहरूलाई आफ्नो राष्ट्रिय कर्तव्यमा समर्पित हुन सदैव प्रेरित गर्नुहुने उहाँहरूका परिवारजनप्रति पनि सम्माननीय प्रधानमन्त्रीज्यूले गहिरो आभार प्रकट गर्नुभएको छ। संकट व्यवस्थापनमा सुरक्षाकर्मीहरूसँगै काँधमा काँध मिलाई खटिनुहुने स्वदेश तथा विदेशका सम्पूर्ण विज्ञहरूलाई धन्यवाद ज्ञापन गर्नुहुँदै उहाँले भन्नुभएको छ, "आदरणीय राष्ट्रसेवक सुरक्षाकर्मीज्यूहरू, तपाईंहरूको यस निस्वार्थ सेवा र समर्पणप्रति नेपाल सरकार र हामी सम्पूर्ण नेपाली नागरिक सधैँ कृतज्ञ रहनेछौँ।"
Nepal Atlas