APPROVEDMinistry of Women, Children, Gender and Sexual Minorities and Social SecuritySep 5, 2026, 02:10 PM
धादिङमा मन्त्री सिता बादीको स्थलगत अनुगमन : प्रभावितको सुरक्षा र सुरक्षित पुनर्स्थापनालाई उच्च प्राथमिकता
NirajSep 5, 2026, 02:10 PM
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बाढी प्रभावित धादिङका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गर्दै विपद्बाट प्रभावित नागरिकको जीवन, सुरक्षा र संरक्षणलाई केन्द्रमा राखेर राहत, सेवा पुनःस्थापना तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
मन्त्री बादीले गजुरी गाउँपालिका–५, गलौंदीस्थित बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै बाढीको प्रभाव, नागरिकको अवस्था तथा तत्काल आवश्यक सहयोगबारे जानकारी लिनुभयो। उहाँले पृथ्वी राजमार्ग तथा आसपासका प्रभावित क्षेत्रको समेत अवलोकन गरी बाढीका कारण नागरिकको आवागमन, दैनिक जीवन तथा सार्वजनिक पूर्वाधारमा परेको प्रभावबारे जानकारी लिनुभयो।
स्थलगत अनुगमनका क्रममा मन्त्री बादीले फुर्केखोला होल्डिङ सेन्टरको निरीक्षण गरी त्यहाँ आश्रय लिइरहेका प्रभावित नागरिकको अवस्था तथा उपलब्ध सेवा सुविधाबारे जानकारी लिनुभयो। उहाँले विपद्को समयमा सुरक्षित आश्रयस्थलमा रहेका नागरिकको स्वास्थ्य, खाद्यान्न, खानेपानी, सरसफाइ तथा अन्य आधारभूत आवश्यकताको सुनिश्चितता राज्यको प्राथमिक जिम्मेवारी भएको बताउनुभयो।
मन्त्री बादीले बाढी तथा विपद्को प्रभाव सबै नागरिकमा समान नपर्ने भएकाले महिला, बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा अन्य जोखिममा रहेका व्यक्तिको संरक्षणलाई राहत व्यवस्थापनको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले अस्थायी आश्रयस्थल तथा प्रभावित क्षेत्रमा सुरक्षा जोखिम पहिचान गरी आवश्यकताअनुसार छुट्टै सुरक्षित व्यवस्था र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गर्नुभयो।
विशेषगरी विपद्का कारण अभिभावकबाट छुट्टिएका वा जोखिममा परेका बालबालिकाको तत्काल पहिचान, सुरक्षित संरक्षण र पारिवारिक पुनर्मिलनलाई प्राथमिकतामा राख्नुपर्ने मन्त्री बादीले बताउनुभयो। बालबालिकालाई असुरक्षित वातावरणमा राख्न नहुने उल्लेख गर्दै उहाँले उनीहरूको संरक्षण आवश्यकता मूल्याङ्कन गरी सुरक्षित र बालमैत्री व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो।
यसै क्रममा मन्त्री बादीले धादिङ जोड्ने पुल तथा आसपासका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै यातायात तथा पूर्वाधारको अवस्थाबारे जानकारी लिनुभयो। उहाँले प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा र नागरिकको आवागमन सहज बनाउन जोखिमयुक्त संरचनाको तत्काल व्यवस्थापन तथा क्षतिग्रस्त पूर्वाधारको शीघ्र पुनःस्थापनामा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।
मन्त्री बादीले नेपाल विद्युत प्राधिकरण, गजुरी सबस्टेशनको समेत स्थलगत निरीक्षण गरी बाढीपछि विद्युत सेवा तथा विद्युत पूर्वाधारको अवस्थाबारे जानकारी लिनुभयो। उहाँले प्रभावित क्षेत्रमा विद्युत सेवा पुनःस्थापना गर्दा नागरिकको सुरक्षा, जोखिमयुक्त संरचनाको व्यवस्थापन तथा सुरक्षित सेवा प्रवाहलाई प्राथमिकतामा राख्न सम्बन्धित अधिकारीसँग आग्रह गर्नुभयो।
मन्त्री बादीले विपद् प्रतिकार्यलाई केवल तत्कालीन राहत र उद्धारमा सीमित नराखी प्रभावित नागरिकको सुरक्षित भविष्य सुनिश्चित गर्ने गरी अघि बढाउनुपर्ने बताउनुभयो। उहाँका अनुसार अहिलेको प्राथमिकता नागरिकको जीवन र सुरक्षाको रक्षा गर्नु हो भने त्यसपछि क्षतिग्रस्त पूर्वाधार, आवास तथा आधारभूत सेवाको पुनःस्थापना गर्दै प्रभावित परिवारलाई दीर्घकालीन र सुरक्षित पुनर्स्थापनासँग जोड्नु हो।
उहाँले प्रभावित नागरिकलाई सुरक्षित आवास, आधारभूत सेवा र जीविकोपार्जनका अवसरसँग जोडेर सम्मानजनक जीवनतर्फ फर्काउने गरी पुनर्स्थापनाको योजना अघि बढाइने बताउनुभयो। विपद्पछि कोही पनि नागरिक संरक्षण र आधारभूत सेवाबाट वञ्चित नहुने गरी संघ, प्रदेश र स्थानीय तह तथा सम्बन्धित निकायबीच समन्वयलाई थप प्रभावकारी बनाइने उहाँले स्पष्ट पार्नुभयो।
5 attachments
- dhading visit (9).jpegimage/jpeg · 513KB
- dhading visit (8).jpegimage/jpeg · 455KB
- dhading visit (7).jpegimage/jpeg · 432KB
- dhading visit (6).jpegimage/jpeg · 318KB
- dhading visit (4).jpegimage/jpeg · 405KB
Nepal Atlas